बेलुकी पख
दुई चार पाइला तन्कने सोंचले
अलि पर पुगें,
भर्खरै गहुँ थन्क्याएर खनजोत भएका
खेतका गराहरु,
बिचोबिच एउटा बिस्कुटको हरियो चपेटो जस्तो
धानको ब्याड रोप्नका लागि ठिक्क छ।
यस्तो प्रतित हुन्छ, सर्लक्क सिउँदो काटेर
दुइचुल्ठी बाटेकी सुकोमल बालिका
आमाको काखमा लुट्पुटिएकी छिन्
आफुलाई नेता मान्नेले झुटको खेति गरेपनि
भोट दिनेमाथि नै भ्रमको बिउ छरेपनि
कटिंग र प्लटिंगबाट बचेकुचेको
बारी र कान्लाहरुमा,
कर्कलो, मुन्टा र बोडी हुर्केकै छ।
कान्छीले दिनभर मकै पोलेरपनि
छोरो पढाएकी छ।
केहि दिदीबहिनी सागको डोको बोकेर
छिटोछिटो बजार तर्फ लम्कँदै छन्
त्यसैबाट आउने पैसाले भरेको भान्सा उतार्नु जो छ।
एक हुल भुराभुरी, खाली चउरमा खेलिरहेका छन्
भोलि खेलाडी बन्ने सपना जो छ।
चोकमा मोमो र चटपटे पसल चलेकै छ
दूर त्यो एकान्त बस्तीमा पनि
जसोतसो चुलो बलेकै छ
पेट पाल्नु र चुलो बाल्नुमात्र नेपालीको नियति जो छ।
जहाजसंगै केहि सपना बादल माथि उडेका छन् सडकका गाडीमा केहि सपना गुडेका छन्
जसरि हुन्, जे हुन्, सपना त सपना नै हुन्
बुढा बा आमा सुस्ताएका छन् चौपारीमा
परदेशिएका छोराछोरी कहिले आउने हुन्
देशमै सुहाउँदो शरण कहिले पाउने हुन्
अनिश्चयको आशापुरिमा जेलिएको जिन्दगी जो छ।
Comments
Post a Comment