साँइला कि सानी ....भाडाको घर, गाउँ फर्कने रहर ।
सहरको खबर सोधौला ….
सहरका ठाउँ ठाउँमा
ज्याकाराण्डा फ़ुलेको छ,
हावाहुरी र चट्याङ्गको मौसम छ,
टन्टलापुर घाम छ,आकाश खुलेको छ।
डोजरले बाटाघाटा खनिराछ,
फ्लाईओभर पुल बनिराछ,
देश विकास भैराख्या छ,
सरकारले यसै भनीराछ।
सरकार चलेकै छ,
संसद पनि चलेकै छ।
कस्तो पट्यार लाग्दो दिन भन्दै
सांसदहरु हाई काढ्याछन्
सबै मुद्दाको सुनुवाई हुने
आश्वासन बाँड्याछन्।
ठूलमानहरुले कूलमानलाई हटाए ..
कूलमानले उज्यालो दिन्थे, नआत्तिन भन्थे
उहिले नाफा थ्यो रे, अहिले घाटा भो रे
खोई, हिसाब-किताब जान्दिन म,
कुन्नि को को मोटाए ?
तिमीपनि हेर्दो हौ, फेसबुक-युट्युबमा देशको सम्चार त
तिम्लाई पनि लाग्दो हो सानीको अत्यास त
बरु फर्क न, आऊ।
जाऊं,आफ्नै गाउँ।
म पनि छोडुंला भाडाको घर, यो बिरानो शहर।
अबेला भैसक्यो गाउँमा ,मलखातको मल फाल्न
धानको ब्याड राख्न, मकै छर्न।
बेला भैसक्यो करेला /काँक्रोलाई
झिंक्रो हाल्न।
आऊ साँइला, फर्कौं आफ्नै ठाऊँ
खिलुवा,खनियो, आरु, काफल, खाऊँ।
ऐसेलु, चौतारो,अमारो,
इम्ली र तिजुको स्वादमा रमाऊँ
तिमी फर्क देश,
तिमी र हामी फर्कौं आफ्नै परिवेश
अब त दुई बिसे भैयो, फुल्न थाले केश
फर्कौं साँइला, आफ्नै गाउँ-बसौं आफ्नै देश।
-सिर्जना थापा सिरु -२०८२/०१/३१
Comments
Post a Comment