त्यो भित्ते पंखा / छोरीहरुको केक रहर - मुटु चस्काउने सम्झना ..
२१ मे २०२० , ५ वर्षअघि, आजैका दिनको घटना फेसबुकले याद दिलायो ।
फोटोमा देखिने मेरा २ छोरीहरु हुन्। यो हाम्रो कपिलवस्तु घरको बगैंचा हो।
बगैंचामा ठूलो क्रिसमसको रुख छ। बुवाले त्यो रुख लगभग ३२ वर्ष पहिले रोप्नु भएको रे।
त्यसैको छहारीमा नानीहरु बसेका छन्।
हेर्नुस् त उनीहरु कति भाग्यमानी.....हजुरबुवाले रोपेको रुखको छहारीमा सित्तल पाईरहेछन्।
उनीहरुको हातमा चपिङ्गबोर्ड छ। त्यसैमा राखिएको छ, सानो 'होममेड केक'।
जुन ठूली छोरीले बनाएकी हुन्।
कुरा यसरि शुरु हुन्छ ...,,नानीहरुको स्कूलको अन्तिम परीक्षा सकियो।
हामी काठमाडौँबाट, तराई घर कपिलवस्तु गएका थियौं। जुनबेला कोरोना फैलिन शुरु भएको थियो।
गर्मी दिनहरुमा तराईमा धेरै समय बस्न के सकिएला ? त्यही सोंचले केहि जोर मात्र फेर्ने कपडा बोकेका थियौं।
बाहिर लकडाउन थियो। कुनै पनि पसल खुलेका थिएनन्।
पेटले फेरी "भोकडाउन" गर्नै नजान्ने। लामा दिनहरु। खाना खाइसकेपछि पनि के खाउँ के खाउँ हुने। हामी ठूला मान्छेलाई त गाह्रो। अझ बच्चालाई त झन् के कुरा। स्कूल छुट्टी भएको बेला उनिहरूका मनपर्ने खानेकुरा दिएर अँठ्याउनै सकस।
बिहान भर्खर खाएको होइन, फेरी पनि त्यै दालभात खाने मामु ? नानीहरुको प्रश्न......
अनि बाहिर बन्द छ त, था' छैन तिमिहर्लाई ? मेरो उत्तर.....
घरैमा पाक्ने खाना र एकाध फलफूलले मात्र बच्चाको चन्चले मन नधानिने।
उनीहरुलाई चरिरहनपर्ने। बजारिया फास्टफुडको स्वाद पाइसकेको जिब्रोलाई घरेलु खानाले मात्र
चित्तै नबुझ्ने।
त्यो बिहान खान खाइसकेको एकैछिन भएको थिएन। ठूली छोरीले भान्सामा भएको किचन र्याक खोलिन्। केको खस्राक खुस्रुक हो ? भर्खर होइन खाना खाएको ? म अलि नै झर्किएं
आज केक खान मन लाग्यो मामु । हजुर टेन्सन नलिनु । म बनाईहाल्छु। छोरीले भनि, बरु मलाई ५० रुपियाँ दिनु त । एकैछिनमा छोरीले १० को दरका ५ ओटा पार्लेजी बिस्कुट किनेर ल्याई। कोरोना आफ्नो पसलमा नछिरोस् भनेर रसी टाँगेर सिमा रेखा सहित अत्यावश्यक सामान पाइने पसल घर नजिकै थियो। साँच्चै केक त के बन्थ्यो र, अलिअलि केकको आकार दिने र केक सम्झेर खाने त हो। त्यसलाई चाहिने इधर उधर सामान घरकै डब्बा=डब्बीबाट सोहोरसाहार पारी छोरीले।
जेठको चर्को घाम। तराइको गर्मी। घरको माथिल्लो तलाको किचन। भित्ते पंखा रन्किएकै थियो।
त्यहि पंखाको ठिक तल छोरीले केकका लागि तयारी गर्दै थिई।
काम सिक्छे, उ रमाउँछे पनि भनेर छट्ट किचन उसकै लागि छोडिदिने मेरो बानी छ।
उसका दिदी बैनी भएर केक बनाउँदै गर्दा एक्कासी भित्ते पंखा खस्यो।
ढ्याक्क आवाज आउनासाथ उनीहरु चिच्याए। पंखा खस्यो मामु भनि ठूलीले।
तातै भएपनि हावा चलेकाले हामी त्यही रुखको छहारीमा थियौं।
नानीहरुको आवाज सुन्नासाथ जर्खराउँदै उठ्यौं र किचन पुग्यौं।
ठूलो भाग्यले मेरा छोरीहरु माथि त्यो पंखा बज्रिएन। उनीहरुलाई अंगालो हालें।
बुवा ममीपनि संगसंगै आउनुभयो। मेरो बाबालाई भन्दै आफ्ना नातिनिहरुलाई उहाँहरुले पालैपालो मुसार्न थाल्नुभयो।
हामीले नानीहरुलाई तल रुखको छायाँमा जान पठायौं । ओभन थिएन। धिमे ग्याँस चुलोमा केक पाकिरहेकै थियो।
चुलो बन्द गरेर हामी पनि तलै झर्यौं। केहि समयपछि नानीहरु सामान्य अवस्थामा आए।
बच्चा मन त हो, उनीहरुको नाकमा मिठो केकको बासना उडीरहेकै थियो।
मैले उनीहरुको मन बुझेर माथि गएर केक ल्याइदिएँ।
भर्खर के नै भएको थियो र, जसरि उनीहरु केकमा रमाएको देखेर हामी पनि खुशी भयौं।
एकछिन पछि बुवाले चुँडेको पंखा फीट गर्दिने मान्छे बोलाउनुभयो। पंखा पुर्ववत रुपमा फर्कियो।
तर मनमा गढेको पंखा खस्ला कि ड्याम्म भन्ने डर आजपर्यन्त उस्तैका उस्तै छ । बुवाले भन्नु हुन्थ्यो धेरै वर्ष भएको थियो रे नटबोल्टु कसकास नगरेको। फेरी ठूलै दशा नलागेसम्म कुनै कुरामा ध्यान दिने बानी हामी नेपालीको हुँदैन।
मेरो आग्रह, हजुरहरुपनि आफ्ना भित्ते पंखाको समय समयमा हेरविचार गर्नुहोस् है
अहिलेपनि भित्ते पंखा देख्यो कि त्यो त्रासदी सम्झेर मुटु चसक्क हुन्छ।
धन्य भगवान तिमी छौ र पो आज मेरा छोरीहरु मेरो साथ छन्।
हरेक सेकेन्डको लागि भगवानलाई धन्यवाद।
Comments
Post a Comment