मनकलाको रोपाईं र गाउँघरको आत्तुरी
भाले त बासीसक्यो अहो ४ बजिसकेछ … अब त उठ्नैपर्छ । सानी र उसको भाई स्कूल जान्छन् भात भान्सा/ घरको कामधन्दा सक्नैपर्छ । गोठल्याईँ सकेर छिट्छिटो एकभारी घाँस काट्नैपर्छ || त्यति गर्दा कति पो बजीसक्ने हो ? एकगास भात टिपेर तल्लारे मनकलाको रोपाईंमा जानु छ । कूलो/खोलो सुक्दै गयो पानीका लागि आकाशकै भर, बेसरी पानी पर्ला र आफ्नै रोपाईं गरौंला भनेको || बाहिर सर्ने बेला भयो कि, कुन्नि ? कुटुकुटु पेट खाको छ, आजकल त हट ब्यागले सेकेर आराम गर्छन् रे यस्तो बेला, हट ब्याग त के पाउनु र ? झरीमा रुझेर मेलापात गर्नैपर्छ | दाउरा नल्याए चुलो बल्दैन, घाँस नल्याए डिंगा भोकाउँछन् || मलखात मुन्तिर छर्दिएका साग /मुलाका बेर्ना सार्नु पर्ने छ । जाडोमा लगाउली भनेर सानीलाई स्विटर बुन्न थालेकी थें धागो सकियाथ्यो, बजार जानुथ्यो । भिमबहादुर दाइले घिउ लगेको पैसा देलान् र जाम्ला भनेको || सानी र सानीको भाइले पोहोरै दशैंमा हो नयाँ जुत्ता र कपडाको रहर गरेका, यसपाली अदुवाको भाऊ बढ्यो भने आउने जाडोसम्म भएपनि फेर्दिम्ला भनेको || सानीका बा मलेसिया हुनुहुन्छ । घरको दु:ख-परको दु:ख मेरै थाप्लोमा छ । धेरै भयो फोन पनि आछैन न सन्चो भएन कि ? यताबाट मिस्कल दिन्थें , रिचार्जपनि यै बेला सकियो | सानीका बा फर्केपछि खरको छानो फालेर
टिन टल्काम्ला भनेको ||
Comments
Post a Comment