त्यो यात्रा सुनौलो
बिन्दु, कला,श्रमिका अनि म । ४ मामु भएर लम्जुङ्ग घुम्न जाने सल्लाह अनुसार कलंकीमा भेटभयौं । बिहान ७ बजे कलंकीबाट छुट्यौं । बिन्दुले ड्राइभ गरिन् । यो भ्रमण हामी ४ मामुहरुको उपत्यका बाहिरको पहिलो भ्रमण | सबै जना उत्साहित थियौं । म सायद अलि बढी । सुर्योदय र मनोरम हिमशृंखलाहरु एकैठाउंबाट हेरेर भरपूर आनन्द लिन घलेगाउँ पुग्नैपर्ने ठाउं हो जस्तो लाग्यो मलाई | थाक्रे पुगेर चिया खाजा खायौं । मुग्लिन पुगेर सुन्तला /पानी किन्यौं । श्रमिकाले अघिल्लै दिन चकलेट किनिराखेकी रैछिन् । कचरपचरले पेट भरियो । खुब केटकेटी पल्टियौं । साथी भेटिएपछि गफमा मस्त हामी डुम्रे काटेर अगाडी गैसकेको पत्तै पाएनछौं | फर्किएर डुम्रे आयौं र लम्जुङ्ग जाने बाटो समात्यौं ।
हाम्रा बाटाघाटाहरु चारैदिशा खनखान पारिएको । जता हेर्यो तेतै अलपत्र । कहिँ १०० को स्पिड । कहिँ घ्याच्च ब्रेक लगायो स्पिड २० मा झर्यो । खाल्डखुल्ड़ी कति कति । तैपनि हाम्री बहादुर साथीले जब्बर बनेर गाडी हाँकीरहीन् ३ बजे बेसीशहर पुग्यौं । सोंचेको भन्दा धेरै बिशाल र रमाइलो रहेछ बेसीशहर । एकैछिन रोकिएर खाजा खायौं । तलपट्टी निलो कन्चन मर्स्याँङ्ग्दी नदि । बेसीशहरबाट केहि माथिसम्म पिच रहेछ । अलि माथि पुगेर चाहिं बाटो बन्ने क्रममा रहेछ । बेसीशहरबाट घलेगाउँ पुग्दा साँझ साढे ५ बजेको थियो । ४४ घरलाई होमस्टे तोकिएको रहेछ । त्यहाँ हाम्रो इन्ट्री चढायौं । बस्ने घर चुन्यौं र झोला थन्क्यायौं ।
भोलिपल्ट बिहान ५ बजे उठ्यौं । हिजो बिरामी श्रमिका आज फ्रेश थिईन् । तर उठ्दा कला बिरामी परिन । उनलाई पनि बान्ता भयो । हामीलाई सूर्योदयको दृश्य छुट्ने हो कि भन्ने नि पिर थियो । साथीलाई सन्चो नभएपछि मन खिन्न्न भयो । एकैछिन रोकियौं र बिस्तारै भ्यूटावरतर्फ लाग्यौं |त्यहाँबाट देखिने माछापुच्छ्रे,अन्नपूर्ण, हिउँचुली,मनास्लु लगायतका हिमशृंखलाको मनोरम दृश्यले अहा…मनै आनन्दित भयो । घामको झुल्को हिमालमा पर्दा पहेंलपुर भएर टल्किने हिमालले मोहित बनायो । घले गाउँका रंगिन घरहरु र हिमालका चुचुराहरु जति हेरेपनि मन अघाउन्न रैछ हामीले पालैपालो फोटो /भिडियो खिच्यौं ।
हामी भ्यूटावर बाट फर्क्यौं । कोदोको सेलरोटी, बनटिमुरको चिया खाजा खाएर बिदा हुने बेला बा आमाले सेतो अक्षता र माला लगाइदिनुभयो । तल इन्ट्री गरेको ठाउं आएर खाँदा बस्दा लागेको पैसा बुझायौं । हामी बेसीशहरतर्फ झर्दैगर्दा आकाश झनै खुलेको थियो । सेता चम्किला हिमाल आँखाले भ्याएसम्मै हेर्यौं | माथिबाट शहर झनै शानदार देखिन्थ्यो । बेसीशहर अरु घुम्ने रहर थ्यो । साथीहरुलाई सन्चो नभएकोले घुमिएन । बेसीशहर बाट वरै हिडन स्टार क्याफे पसेर खाजा खायौं । करिब एक घण्टा बसेर डुम्रे तर्फ झर्यौं | अनि बन्दीपुरका लागि उकालो लाग्यौं |
पहाडको सुन्दर शान्त र ऐतिहासिक शहर बन्दीपुर । बन्दीपुर पुगेर हामीले हेरिटेज साइटकै होटेल रोजेर बस्यौं । फ्रेश भएर साँझ यसो टहलिन निस्क्यौं । बिरामी साथीहरु अलि सन्चो हुँदै थिए । खाना खाईवरी सुत्यौँ । अर्को दिन बिहान खाजा खाएर ९ बजे हामी निस्क्यौं । बाटोमा फलफुल /कफी खाँदै आयौं । थानकोट आइपुग्दा टायर पन्चर भयो । ग्यारेज थिएन । बाटो मर्मतमा खटिएका भाईहरुलाई गुहार्यौं । करिब ४५ मिनेटमा बल्ल त्यहाँबाट निस्केर कलंकी आयौं । कलंकीबाट ४ जना ४ तिर लाग्यौँ ।
धन्यवाद साथी बिन्दु तिमीले भर्खर अपरेशन गरेको शरीर भनिनौ । त्यति टाढा ड्राइभ गरेर लग्यौ /ल्यायौ । धन्यवाद कला /श्रमिका तिमीहरु सन्चो नहुँदा पनि साथ निभायौ । तिमीहरु ३ वटीले हुन्छ जाऔं भन्यौ र पो म मेरो मनले चाहेको ठाउं पुगेर आएँ |
काठमाडौँबाट त्यति टाढा गइएला त ? भन्दाभन्दै हामी घलेगाउँ पुगेरपनि आयौं । कामकाजी हुनुहुन्छ वा घर सम्हाल्नुभएको छ ? जे नै भएपनि हजुरहरुपनि साथीसाथी मिलेर कहिलेकसो जानुस् है कतै घुम्न । मनमिल्ने साथीसंग समय बिताउन पाउँदा मन हल्का हुन्छ । हामी जहिले परिवारको मात्र सोच्छौं । छोराछोरीकै मात्र खुशी हेर्छौं तर आफु खुशी हुन् बिर्सन्छौं । कहिले कसो रमाइलो त हामी पनि डिजर्भ गर्छौं होइन र ?
Comments
Post a Comment