पाल्पा आक्रमणको १८ वर्ष
त्यो त्रासदीपूर्ण रात । माओबादीले पाल्पा दरवार आक्रमण गरेको १८ वर्ष भएछ । २०६२ साल , माघ १८को त्यो रात, खानपिन गरेर सबै पाल्पाबासी सुत्ने तरखरमा थिए । एक्कासी गोली, बारुद र बम को चिडिम-चिडिम ढीसुम आवाजले जिल्ला थर्कमान भयो । बम /गोलि विशाल ऐतिहासिक धरोहर ‘पाल्पा दरवार’ तर्फ लक्षित भएपनि कान कानमै चड्कन आएजस्तो लाग्यो । ओहो ! अति त्राही त्राहीमा रात गुज्रियो । गुज्रियो पनि के भनौं रात गुजार्न साह्रै गाह्रो भो । गोलीले आफ्नै झ्यालको सिसा फोर्यो जस्तो लाग्ने । बमको आवाजले त ला ध्वस्तै भैयो जस्तो हुने । एकदम डरमा रात बित्त्यो ।
गोली बर्सन शुरु गर्दा मेरी भदैनी र म त झुपुक्क निदाएका रैछौँ । चर्को आवाजले म झल्याँस्स बिउँझिएँ । नानु निदाएकीले उठाइन । एकोहोरो गोलीको आवाजले उ पनि एकछिनपछि जागीहाली | के भएको फुपू भनि , गोली पड्केको सानु | तिमि नडराऊ ल भनें । तर मै आफैलाई डरले मर्नु भएको थियो । दिशा लागेजस्तो | पिसाबले चांपेजस्तो भयो । तर बाहिर निस्केर ट्व़ाइलेट जाने आँट थिएन । फुपू भदैनी थिएम एकअर्काको सहारा । मनमुटु काँप्यो थर्रर । एकले अर्कोलाई चरप्प समाएर बसेम ।
हाम्रो डर घटेको थिएन । जतिजति बढी गोली बारुद बर्सियो, त्यतित्यति डरले फुपू /भदैनी एउटै डल्लो परेर बसेका थियौं | दायाँ बायाँ भाडा गरि बस्ने अरुहरु पनि डरले बाहिर निस्केका चाल पाइएन । एकछिनपछि भदैनिले जोडले पिसाब आयो फुपू भनिन् । बाहिर जान नसकेपछि सानो बाँटा / परांतमा पिसाब गर्यौं दुबैले । मर्नु भन्दा बोलाउनु निको भन्या जस्तै गर्यौं
यसो झ्यालको पर्दा सारेर बाहिर चियाएँ । हाम्रो पूर्खाको चिनो । पाल्पाको शान । हाम्रो मुख्य प्रशासनिक कार्यथलो भीमकाय दरवार आगोको लप्कोमा बलिरहेको थियो । निकै निरिह महशुस भयो । केहि गर्न सक्नु थिएन । यतिकै आगो लाग्या भए त पानी बोकेर आगो निभाउन मद्दत गर्थें होला । तर विद्रोही माओबादीले सल्काएको आगो थियो । कोहि घरबाहिर निस्कन सम्भव थिएन ।
बल्लतल्ल उजेलो भयो । बिहान भयो । ढोका खोलेर बाहिर नियाल्दा दरवार आगोको भुङ्ग्रोमा परिणत भैसकेको थियो । हामी बसेको घर तल पट्टि बारीका सोता थिए । खोइ म त त्यता गइन । तर गएकाले भनेका थिए दोहोरो भिडन्तमा मारिएकालाई माओबादीले पुरेर हिंडेको रे ।
अलि ७/८ बजेतिर शितलपाटी तर्फ झरें । भदैनिलाई डोर्याउँदै । बाटा बाटामा सावधान लेखेको कुकरहरु यत्र तत्र देखिन्थ्यो । दया फोटो स्टुडियो तर्फ़ रगतको आहाल देखेपछि तुरुन्तै कोठातर्फै फर्किएँ ।
अहिले दरवार पुनर्निर्माणपछि ‘पाल्पा दरवार संघ्रालय’ को रुपमा संचालनमा आएको छ । तर युद्दको चपेटामा परेका पाल्पाबासीले त्यो कालो रात भुल्ने छैनन् ।
६२/६३ को जन आन्दोलनका केहि उपलब्धिहरु भएपनि माओबादीले आफ्नो विद्रोहकालमा किन विद्यालय, पाटीपौवा, शालिक, पुराना धार्मिक,संस्कृतिक, ऐतिहासिक धरोहरमा किन धावा बोलेका हुन् बुझ्न सकिएन ।
माओवादी अहिले पनि सत्तामा छ । यसअघि पनि थियो । गैर माओबादीलाई त उसले हेर्ने कुरा आएन । तर युद्दमा जबर्जस्ति पिल्सिन बाध्य पारिएकाहरुलाई के माओबादीले कठैबरी भनेको छ त ???
Comments
Post a Comment